समाचार

मालपोत कर तिर्न दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता

प्रेम रौले /बाजुरा मार्तडी । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् ।

तीन तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि स्थानीय तहले कर्मचारी नपाउँदा जनताले दुई दिन पैदल हिँडेर सेवा लिनुपरेको त्रिवेणी नगरपालिका–७ का गीता साउदले गुनासो गरे ।

उनले गाउँ÷गाउँमा सिंहदबार आएको आफूले महसुस नगरेको उल्लेख गर्दै गाउँ÷गाउँमा सिंहदरबार पुगेको भन्ने गरिन्छ, तर सार्वजनिक सेवा लिन भने दुई दिनको पैदलबाटो हिडनुपर्ने बाध्यता रहेको बताए ।

जिल्लाका नौ स्थानीय तहमा चार नगरपालिका र पाँच गाउँपालिका छन् । तीमध्ये ६९ वडाका ५५ भन्दाबढी वडामा कर्मचारी नहुँदा सचिवको कामकाज जनप्रतिनिधीले झोलामा कार्यालयका सामान बोकेर सेवा दिनु परेको त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले बताए।

त्रिवेणी नगरपालिकाका स्थानीयवासीलाई वडाबाट पाउने सेवा सुविधा लिन दुई दिनको पैदलयात्रा हिँडेर सेवा लिनुपर्ने बाध्यता छ । वडा कार्यालयमा खरिदार तहको कर्मचारी नहुँदा सोही नगरपालिका– १ साविकको छतारा गाविसमा गएर सेवा लिनुपर्ने समस्या रहेको छ ।

उनले दिएको जानकारी अनुसार वडावासीले वडामै जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता र जग्गाको मालपोत कर तिर्नका लागि दुई दिनको पैदल बाटो हिँडेर सेवा लिने गरेको बताए ।

त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले वडामा सचिव नहुँदा जनताले दुई दिनको पैदल बाटो हिँडेर यहाँबाट सेवा सुविधा लिने गरेको स्वीकार गरे । प्रदेश र सङ्घीय सरकारले स्थानीय तहमा कर्मचारी नखटाउँदा सचिव समेतको काम आफैले गर्नुपरेको अध्यक्ष थापाको भनाइ छ ।

अध्यक्ष थापाले वडा नं १, २, ३ र ४ बाहेकका स्थानीयबासीले साविकको छतारा गाविसमा गएर सेवा लिने गरेका छन् । नगरपालिकाका नौवटै स्थानीय तहका खरिदार वा सो सरहका कर्मचारी अर्थात वडा सचिव नहुँदा वडाको एक जना सचिव दिलबहादुर बुढाले नै नौवटै वडाको काम गर्नुपरेको अध्यक्ष थापाको गुनासो छ ।

त्यसैगरी वडा सचिव दिलबहादुर बुढाले प्रत्येक वडामा कर्मचारी नहुँदा आफूले जेनतेन जनतालाई सेवा दिँदै आएको बताए । सङ्घीय सरकार र प्रदेश सरकारले कर्मचारी नपठाउँदा एक्लैले नौ वटै वडाको वडा सचिव भएर काम गर्नुपरेको राससलाई बताए ।

जिल्ल्लाका नौवटै स्थानीय तहका नगरपालिका र गाउँपालिकाका गरी ६९ मध्ये ५४ वडा सचिव विहीन रहेका छन् । जिल्लाको दुर्गम क्षेत्रमा हिमाली गाउँपालिका, स्वामीकात्तिक गाउँपालिका, जगन्न्नाथ गाउँपालिकालगायतका स्थानीय तहमा भने सचिव नै नभएर वडा अध्यक्षले सचिवको काम गर्ने गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।

सङ्घीय सरकार र प्रदेश सरकारले मङ्सिर मसान्तभित्र कर्मचारी स्थानीय तहमा नखटाइए आन्दोलन गर्ने त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले जानकारी दिएका छन् ।