स्वास्थ्य

शल्यक्रियासहितको आँखा शिविर सञ्चालन

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु भएको शिविरमा एकैदिन एक सय जना भन्दा बढीको आँखा परीक्षण गरिएको छ ।

मङ्सिर १५ गतेदेखि फाकफोकथुमकै फूएतप्पा, लुम्दे, एकतप्पा र फाकफोकमा शुरु भएको शिविरमा करीब दुई हजार जनाको आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति सङ्घका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब ६० जनाको शल्यक्रिया गरिने आयोजकले जनाएको छ । उक्त परीक्षण शिविरमा ५६ जना मोतिया विन्दुका बिरामी भेटिएको र उनीहरूको मोतिया विन्दुको शल्यक्रियाका लागि आमचोकमा शिविर राखिएको जनाइएको छ ।

शिविरको पहिलो दिन ११ जना भन्दा बढीको मोतिया विन्दुको सफल शल्यक्रिया गरिएको डा हनी केसीले बताए । शिविरमा विराटनगर आँखा अस्पतालका डा केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिविन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बितेको एक वर्षमा सङ्घले एक हजार जनाको मोतिया विन्दुको शल्यक्रिया गरेको बताए ।

सन् २०२० सम्ममा मोतिविन्दु र रतन्धो लागेको मानिसको सङ्ख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको बताए ।