प्रदेश 1

लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित

इलाम । विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् ।

प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन समेत खोलेका हुन् ।

नवगठित अर्थोडक्स श्रमिक महिला मञ्चकी सचिव देवुका आचार्यले कारखानामा महिला र पुरूष श्रमिकबीचको विभेदविरूद्ध आवाज उठाउन सङ्गठन खोलिएको जानकारी दिए । “प्रशोधन कारखानामा अहिले पुरूषलाई रु ४०० र महिलालाई रु ३०० ज्याला दिइन्छ ।” आचार्यले भनिन्, “हामी महिला भएकै कारणले ज्यालामा विभेद गरिएको हो । एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?”

आचार्यका अनुसार मञ्चमा दुई जिल्लाका सबै प्रशोधन केन्द्रका एक/एक महिला समेटिएको छ । सङ्गठनका अन्य सदस्य आवश्यकताअनुसार थप गर्दै लगिने छ । “हामी सङ्गठनभित्र काम गर्दा सबै समस्या सुनुवाइ हुँदैन र एक्लै सबै समस्या भन्नसमेत सकिँदैन । त्यसैले एकताबद्ध भएका हौँ”, सचिव आचार्यले भनिन्, “महिला श्रमिकलाई श्रमिक ऐन, कानून समेत जानकारी गराउन सङ्गठन आवश्यक परेको हो ।”

स्थापनापछि उक्त सङ्गठनले बचतसमेत सङ्कलन गर्न थालेको छ । मासिक रु १०० बचत सङ्कलन र उक्त रकम महिला श्रमिकलाई आवश्यक परेकाका बेला ऋण स्वरुप उपलब्ध गराइने व्यवस्था गरिएको अध्यक्ष होमकुमारी आचार्यको भनाइ थियो ।