समाचार

वाडाध्यक्ष खड्काले कुटे अधिकृत लुइँटेललाई, कर्मचारी आन्दोलित

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले बिहीबार नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेका छन् ।

वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु¥याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीले बताएका छन् ।

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडाध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय विनासिफारिश गर्न नमिल्ने जानकारी गराएपछि उनले आफूमाथि अभद्र व्यवहार गरेको स्वीकार गरे ।

त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको उनले जानकारी दिए । नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशाकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुका साथै पानीको बोतल प्रहार गरेको र पानीको बोतल लुइँटेललाई नलागे पनि पानीको छिट्टा भने परेको थियो ।

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् । कर्मचारीहरुको हस्ताक्षरित विज्ञप्तिमा नीति, कानून, नियम र कार्यविधिविपरीत काम गर्न जनप्रतिनिधिले नै दिएको दबाबका कारण घटना घटेकाले यस्ता गतिविधिले सङ्घीयता कार्यान्वयनमा खटिएका कर्मचारीमा चुनौती थपिने भन्दै कर्मचारीको ज्यानको सुरक्षाको प्रत्याभूति नभएसम्म र वडाध्यक्ष खड्काले कर्मचारीसँग औपचारिकरुपमा माफी नमागेसम्म सम्पूर्ण कर्मचारीले नगरपालिकाको काम ठप्प पार्ने उल्लेख छ ।

यसबारेमा बुझ्न पटकपटक फोन गर्दा पनि वडाध्यक्ष खड्काले मोबाइल फोन उठाएनन्। यता नगरप्रमुख सोमप्रसाद मिश्रले भने घटनाकाबारेमा आफूले विस्तृत जानकारी नपाएको बताए ।

उनले भने, “म आज नगरकोटको विकासका विषयमा चार वटा नगरपालिकाको बैठकका थिए, कार्यालयमा भएको घटनाबारे जानकारी पाएको छैन, भोलि कार्यालय पुगेपछि के हो, बुझौँला ।”