प्रवास

पोर्चुगलमा विश्व शान्तिको कामनासहित महायज्ञ

लिस्बन । विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो ।

विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक एवं महायज्ञका प्रमुख बाचक योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिए । महायज्ञ सम्पन्न गर्नका लागि २६०० युरो अर्थात् रु तीन लाख २५ हजारभन्दा बढी खर्च भएको उनले बताए । अपेक्षा गरेअनुरुप रकम सङ्कलन नभए पनि पोर्चुगल र नेपालमा मन्दिरसहितको आश्रम बनाउने योजना रहेको पनि उनले बताए ।

‘द ट्रथ लभ अफ लिभिङ फाउण्डेशन’को आयोजनामा भएको महायज्ञमा प्रमुख वाचक शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवतका साथै सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता र आत्मज्ञानबारे प्रवचन दिएका थिए । ।

अघिल्लो बिहीबारदेखि शुरु भएको महायज्ञमा सात दिनसम्म दैनिक पूजा, जलधारा, पाठ, ह्वन, ध्यान, प्रवचनका साथै भजनकीर्तनसमेत गरिएको थियो ।