शिक्षा

स्थानीय तहबाटै शिक्षा सुधारमा जोड

काठमाडौँ । दक्षिण एशियाका भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, भूटान, नेपालका शिक्षा क्षेत्रका बौद्घिक सहभागी शिक्षा सार्वजनिक हितको विषयक तीन दिवसीय सङ्गोष्ठीले अभिभावक, शिक्षक र विद्यालयलाई नजिक तुल्याई स्थानीय तहबाटै शिक्षा सुधारको पहल गर्न सुझाएको छ ।

सहभागीले काठमाडौँको एक निजी विद्यालय र एक सार्वजनिक विद्यालयको स्थलगत भ्रमण गर्नुका साथै विद्यालय शिक्षाका विविध आयामलाई समेटेर निर्माण गरिएको चलचित्र छक्कापञ्जा ३ पनि निर्माता, निर्देशक र कलाकार टोलीसँगै बसेर हेरेका थिए ।

दक्षिण एशियामा विद्यालय शिक्षाको अवस्था नीति, पद्घति, नेतृत्व, कार्यान्वयनका दृष्टिकोणबाट अवस्था उस्तैउस्तै रहेको र वर्तमान अवस्था सुधार गर्नका लागि एकअर्काको अनुभवबाट प्रशस्त सिक्न र बुझ्न सकिने कार्यक्रममा बताइएको थियो ।

बहसका क्रममा शिक्षाको निजीकरण, शिक्षामा राजनितीकरण, शिक्षकको क्षमता अभिवृद्घि, विद्यार्थीका लागि शिक्षण र अन्य सिर्जनशील क्रियाकलापको व्यवस्थालगायतका विषयमा मन्थन भएको थियो ।

शिक्षाको निजीकरणले समाजमा विभेदलाई अझ बढाउँदै लगेकाले शिक्षालाई सार्वजनिक, निःशुल्क र सहज बनाउनुपर्ने र खुलारूपमा भइरहेको निजीकरणलाई नियमन गर्नुपर्ने सहभागीले जोड दिएका थिए ।