कृषि

प्रदेश पाँचमा आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

रुपन्देही । प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले १२ जिल्ला हेर्ने गरी आठ जिल्लामा कार्यालय स्थापना गरेर सेवा शुरु गरिएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए । जिल्लामा कृषि र पशु सेवा कार्यालय नभएको अवस्थामा स्थानीय तहसँग समन्वय गरी काम गर्ने जिम्मेवारी केन्द्रलाई छ ।

प्रदेशका ६ जिल्लामा पशु अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गरिएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, बाँके, दाङ र रोल्पामा पशु सेवाविज्ञ केन्द्रको स्थापना गरिएको अधिकृत घिमिरेले जानकारी दिए। जम्मा १२ जिल्ला रहेको प्रदेशमा एक जिल्लाले अर्को जिल्ला हेर्नेगरी ६ जिल्लामा केन्द्रको स्थापना गरिएको उनले बताएका छन् ।

रुपन्देहीमा कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय स्थापना गरिएको कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिए। कृषि तथा पशु सेवालाइ कृषकका बीचमा सहज पहुँचका लागि केन्द्रको स्थापना भएको भन्दै उहाँले केन्द्रमार्फत कृषि र पशुपालनलाई व्यावसायिक बनाउन विज्ञको सेवा दिने, तथा स्थानीय तहसँग समन्वय गरी काम गर्ने अख्तियारी केन्द्रलाई दिइएको भण्डारीले बताएका छन् ।