समाचार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४) मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गर्नुभएको थियो । भ्रमण दलमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमणका बारेमा जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले सम्मेलनको उद्घाटनमा नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताउनुभएको मन्त्री बस्नेतले उल्लेख गरे ।

नेपाल हिमाल, पहाड र तराईयुक्त अतिकम विकसित मुलुक भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्न विशेष प्रयास गरेको र नमूना परियोजना तयार तथा कार्यान्वयन गरी नेपालले जलवायु परिवर्तनका जोखिम कम गर्न प्रयास गरेको बताएको थियो ।

राष्ट्रपति भण्डारीले सम्मेलनमा हिमाली जलवायु विज्ञानको अध्ययन प्रवद्र्धन गर्ने, दिगो पहाडी अर्थतन्त्र जोगाउने, सामाजिक तथा आर्थिक विकास गर्ने, सबै नेपालीलाई स्वच्छ ऊर्जामा पहुँच दिने प्रयासमा ज्ञान, सीप, प्रविधि र जलवायु वित्त अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोग हुने विश्वास व्यक्त गरिएके थियो ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसलेबीच शिष्टाचार भेटवार्ता भएको थियो । साथै राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पोल्याण्डको राजधानी वार्सास्थित रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली सङ्घ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।