खेलकुद

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

काठमाडौँ । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन/तीन तथा एउटा क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको चितवन टाइगर्सले पाउल स्टर्लिङ (आयरल्याण्ड), जोन सिमसोन तथा जर्ज स्कट (इङल्याण्ड)लाई क्लबमा अनुबन्ध गरेको छ ।

शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्सले रायन टेन डोसच्याटे (नेदरल्याण्डस), मोहम्मद नाभिद (युएइ), रवि इन्दर सिंह (भारत) तथा पारस खड्काको कप्तानीको विराटनगर वारियर्सले बाबर हायत (हङकङ) र पाउल भान मेकेरेन (नेदरल्याण्डस)लाई क्लबमा अनुबन्ध गरेको छ ।

सोमपाल कार्मीको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ ले रोहन मुुस्तफा (युुएई) र केभिन ओ ब्रायन ९आयरल्याण्ड० तथा ज्ञानेन्द्र मल्लको कप्तानीको ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर (भारत)लाई ल्याएको जनाएको छ । शक्ति गौचनको कस्तानीको पोखरा राइनोजले सन्नी भिमसारिया (हङकङ), काइल कोइट्जर (स्कटल्याण्ड) र पाउल कोलिन (इङल्याण्ड)लाई क्लबमा ल्याएको छ । यही मङ्सिर २२ गतेदेखि शुरु हुने उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ ।