कर्णाली प्रदेश

यस्तोपनि छ नेपालमाः फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

हुम्ला । हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रंदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् ।  सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए ।
नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् ।

घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरे ।
यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ ।
त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए ।