पु.समाचार

पुष्पकमल दहालको पहलमा हुलाकी सडकको स्तरबृद्धी हुन्छः मेयर दहाल

चितवन । भरतपुर–माडी–ठोरी हुलाकी सडकको मुख्य क्षेत्र पकौडी चोकदेखि जगतपुरको राप्ती पुलसम्मको सडक स्तरोन्नति हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालको पहलमा सो सडकको स्तरोन्नति हुन लागेको हो । पटिहानीको पकौडी चोकदेखि जगतपुर राप्ती पुलसम्मको सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले रु नौ करोड ७५ लाख निकासा गरेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन् । सो क्षेत्र सात किलोमिटर लामो रहेको छ ।

यही मङ्सिर १३ गतेको मन्त्रिस्तरीय निर्णयले सो रकम निकासा गरिएको उनले बताईन् । चालू आवभित्रै रु नौ करोड ७५ लाखको सीमाभित्र रही प्रक्रिया पु¥याई ठेक्का व्यवस्थापन गर्न अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएको छ । नगरप्रमुख दाहालका अनुसार यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चितवन आउँदा प्रचण्डले सो सडक निर्माणका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । महानगरले पनि हुलाकी सडक निर्माणका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।

चितवनमा ४३ करोडको तटबन्धन

चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आवमा रु ४३ करोड लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो ।

आयोजना प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ रु आठ करोड, कयर खोलामा रु १५ करोड राप्ती र केरुङ्गा रु चार÷चार करोड लागतमा तटबन्ध गर्न लागिएको हो ।

नारायणी नदीका चितवनतर्फ गाँजापुरको चौकीडाँडा, हिरापुर, न्युरेचोक र मझुवा सामुदायिक वन पछाडि तटबन्धनका लागि बोलपत्र आह्वानको तयारी गरिएको छ । नवलपरासीतर्फ गैँडाकोट, रजहर, मध्यविन्दु र अमलटारीमा तटबन्ध गरिनेछ । कयर खोलाको शक्तिखोर पुल दुई सय मिटर पूर्वबाट करीब तीन किलोमिटर दुवैतर्फ तटबन्ध गर्ने तयारी गरिएको शाक्यले बताउनुभयो । भरतपुर महानगरपालिका हुँदै राप्ती मिसिएको केरुङ्गा घोलमा आवश्यक परेका ठाउँमा तटबन्धनका लागि अध्ययन भइरहेको छ ।

यसअघिका वर्षहरुमा नारायणी नदीमा मात्रै तटबन्धन गर्दै आएको आयोजनाले यस वर्षबाट अन्य स्थानमा पनि तटबन्धन गर्न शुरु गरेको हो । आव २०६६÷६७ मा जनताको तटबन्धन नामबाट शुरु भएको यस कार्यालय हाल जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग मिसिएर आयोजनाका रुपमा विकास गरिएको छ ।

कार्यालय स्थापना भएदेखि नै नारायणी नदीमा तटबन्धन गर्न शुरु गरिएको थियो । हालसम्म नारायणी नदी तटबन्धनका लागि रु एक अर्ब ३० करोड खर्च भइसकेको शाक्यले बताए । विसं २०६८ मा गरिएको अध्ययनमा नारायणी नदीबाट चितवन र नवलपरासी क्षेत्रलाई जोगाउन पूरै नदी तटबन्ध गर्दा रु १० अर्ब ८१ करोड लाग्ने अनुमान गरिएको थियो । बजेट कम निकासा भएपछि बजेटअनुसार अत्यावश्यक ठाउँमा मात्रै तटबन्ध गरिँदै आएको छ । तटबन्धसँगै नदीआसपासका जनता सुरक्षित भएका छन् ।