गण्डकी प्रदेश

मायादेवीको मन्दिर देख्ने बित्तिकै चित्रकार आकर्षित

काठमाडौँ । मायादेवीको मन्दिर देख्ने बित्तिकै पोखराका चित्रकार मनोज तामाङको मन त्यसतर्फ आकर्षित भयो । उनले लुम्बिनीस्थित बुद्धको जन्मस्थलसहित मन्दिर चित्रमा नउतारी बस्न सक्नुभएन । आज बिहानै उनले मन्दिर छेवैमा बसेर मायादेवी मन्दिरसहित अशोक स्तम्भमा जलरङ्गले दुरुस्तै पारे ।

चित्रमा झक्तजनसहित बौद्ध अनुयायी र पर्यटकलाई समेत चित्रकार तामाङले समेट्नुभएको छ । बीचमा सुन्दर तलाउ, छेवैमा पिपलको चौतारीले चित्रको सुन्दरता बढाएको छ । ऐतिहासिक ठाउँ विश्वकै शान्तिभूमि भएकाले अरु दृश्यभन्दा पहिलो यहाँको चित्र बनाउन मन लागेको तामाङले बताएका छन् । उनसँगै सङ्खुवासभाका डिबी राईले पनि जलरङ्गमा कुची खेलाउँदै क्यान्भासमा मायादेवी मन्दिरलाई उतार्नुभयो ।

चित्रको माध्यामबाट बुद्ध जन्मिएको स्थानलाई विभिन्न रङ्गले क्यान्भासमा रङ्ग्याउँदै उनले भने, “नेपाली कला र संस्कृतिलाई जोडेर पर्यटन विकाससँगै बुद्धको जन्मभूमि विश्वसामु चिनाउनु मेरो मुख्य उद्देश्य हो ।” मायादेवी मन्दिरको छेउमा बसेर मन्दिर र अशोक स्तम्भलाई उनले केन्द्रविन्दुमा पारे । उक्त चित्रमा नजिकैको पोखरीसहित विभिन्न देशबाट आएका धर्मावलम्बीहरुले ध्यान गरिरहेका देखिन्छ । “मायादेवीको आँगनमा बसेर ध्यान गरिरहेको दृश्य हो यो, शान्तिको भूमिलाई चित्र नउतारी मनै मानेन”, राईले थपे ।

साउदी अरबको मम्कामदिनामा विश्वभरका लाखौँ पर्यटक पुग्छन् । यो लुम्बिनीलाई पनि यसैगरी फैलाएर बौद्धमार्मीको मुख्य गन्तव्य बनाउने र कलाको माध्यामबाट योगदान पु¥याउने लक्ष्यसहित यहाँ स्वदेश र विदेशका ४० भन्दा बढी चित्रकार सहभागी भएका हुन् ।

मायादेवी लुम्बिनीको मुटु हो । जहाँ बुद्ध जन्मिएको प्रमाण सम्राट अशोकले लेखेको शिलालेखले प्रष्ट पार्छ । त्यही भएर कलाकारको मष्तिष्कमा यो ठाउँले बास पायो र उनीहरुले चित्रमा उतारे ।

बनेका सबै चित्रकला अध्ययन गर्नुभएका धनकुटाका डिल्लीकृष्ण आलेले भोलि छुट्टै विषयमा चित्र बनाउने सोच बनाउनुभएको छ । पहिलो पटक भाग लिएको बुद्धभूमिमा आउँदा खुशी छु । पाल्पाका डिराम पाल्पाली र गोपाल दराई, धरानका महेन्द्र राई, जीवन पौडेल, विगेन राईलगायतले बुधबार मायादेवी मन्दिरको आँगनमा बसेर चित्र बनाएका थियो ।

लुम्बिनीले धेरै पुरानो इतिहास बोकेको छ । बुद्ध जन्मेको ठाउँसँग आध्यात्म पनि जोडिएका छ । यहाँ विश्वका पर्यटक आउँछन् । ज्ञानको ज्योति फैलाउने व्यक्ति नेपालमा जन्मनु गर्वको कुरा भएको उल्लेख गर्दै पाल्पालीले भने, “मायादेवी मन्दिरले आउनेबित्तिकै मेरो भावनालाई पनि छोयो, त्यसैले फोकस गरेको हँु।” उनले कोर्नुभएको मायादेवीको मन्दिर, पिपलको छहारी, मायादेवीले नुहाएको स्थानसहितको सुन्दर दृश्य प्रत्यक्षजस्तै छ ।

चित्रकार सुरेश स्याङतानले लुम्बिनीको वातारवणमा छिर्दा नै शान्तिको महसुस भएको बताउनुभयो । देखेर मात्रै नभई यहाँ आउँदा भित्री अनुभवले छुट्टै मिठास आउने खालका शक्तिशाली कुराहरु चित्रमा उतार्न सकिने भएकाले चित्र कोर्न आएको उनको भनाइ थियो ।

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलका दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा छन् । अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवअन्तर्गत लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ्ग समाजका विश्व अध्यक्ष क्यानडाका अतानुर डोगान, भारतका देशीय प्रमुख अमित कपुर, बङ्गलादेशका देशीय प्रमुख कौशर हुसेन, मङ्गोलियाका मुक्खु गुगु, अमेरिकाकी मिनी भेलेरो, न्यूजील्याण्डका जिनेट वाङ र चीनका जाओ सिनसहित २० कलाकार सहभागी रहेको समाजका महासचिव दीपेन्द्रमान बनेपालीले बताएका छन्। यस्तै २० भन्दा बढी नेपाली चित्रकार पनि लुम्बिनी आइपुगेका थिए ।

यही मङ्सिर २३ गतेसम्म चल्ने महोत्सवअन्तर्गत विश्वका कलाकारलाई नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र घुमाएर चित्रकलामा सहभागी गराइने छ । आज पनि लुम्बिनीमै बसेर चित्रकारले दृश्य उतार्नेछन् । त्यसपछि काठमाडौँमा फर्किएर विभिन्न सम्पदा सूचीमा परेका क्षेत्रको भ्रमण गरी कलाकार चित्रकला कार्यशालामा सहभागी हुने आयोजकले जनाएको छ । काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्र पाटनको दरबार स्क्वायर, स्वयम्भु, पशुपतिनाथलगायत ठाउँमा विदेशी चित्रकारलाई भ्रमण गराइने कार्यक्रम छ ।

दोस्रो प्रयासमा यसले विश्वमा नै सकारात्मक प्रभाव पारेको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष एनबी गुरुङले बताएका छन् । दुई वर्षअघि कास्कीको घान्द्रुकमा पहिलो सम्मेलन भएको थियो ।