समाचार

मेडिकल र किराना पसलमा आगलागी

राँझा । नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ । बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे ।

आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको सामान जलेर नष्ट भएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने उल्लेख गर्दै उहाँले आगलागी भएको थाहापाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको बताएका छन् ।

सफा मेडिकलका सञ्चालक राकेशकुमार कुम्हालले रु ५० लाखभन्दा बढीको औषधि नष्ट भएको उल्लेख गरे। उनले रु ४५ लाखमा पसलको बीमा गर्नुभएको थियो ।

औषधि व्यवसायी सङ्घ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमारु ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको तातोका कारण भएका औपधि पनि प्रयोग गर्ने नहुने जानकारी दिए । केही महीना अगाडि मात्रै नेपालगञ्जकै धम्वोझीमा रहेको जीवन शर्माको औषधि पसलमा पनि आगलागी भएको थियो ।