पत्रपत्रिका

निर्मला पन्तमाथि सामूहिक बलात्कार भएको आशंका

काठमाडौं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ ।

यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा। नयाँ पत्रिका पत्रिका लेख्छ, सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन्।

उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ।

केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए। तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए।

चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ। प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो ।

‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर, प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ।