कर्णाली प्रदेश

महिला हिंसा विश्वव्यापी चुनौती : परराष्ट्रमन्त्री ज्ञवाली

सुर्खेत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान र दिगो विकास लक्ष्यलाई आधार बनाएर अघि बढेको बताए ।

“महिलालाई पुरुष सरह बनाउन राज्यले ३३ प्रतिशत अधिकार प्रदान गरेको छ”, उनले भने, “संविधानको मौलिक हक लागू गर्न सरकारले कानून निर्माण गरिरहेको छ ।” सङ्घ, प्रदेश र स्थानीय सरकारमा ४१ प्रतिशत महिलाको सहभागिता रहेको स्पष्ट पार्दै उनले पछिल्लो समयमा महिला अधिकारको उपलब्धि गर्व गर्न लायक भएको बताए ।

“बलात्कार, हत्या, हिंसा र अपहरणलगायतका विकृतिको अन्त्यका लागि सबै तहका सरकारको भित्री सङ्कल्प अपरिहार्य छ,” उनले भने, । आर्थिक, सामाजिक र सांस्कृतिकका साथै सम्पत्तिमा महिला अधिकार सुनिश्चित हुनसके मात्र हिंसा कम हुने मन्त्री ज्ञवालीको भनाइ थियो ।

उत्तर–दक्षिण जोड्ने हिल्सा–जमुना द्रूतमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।