राजनीति

अझै खुलेन श्रम सम्झातापछि पनि मलेसिया, मन्त्री विष्ट माथि छानविन गर्न कोइराला र थापाको माग

काठमाडौं । मलेसियाले नेपालसँग श्रम सम्झौता गरेको करिव एक महिना भन्दा बढी भईसकेकको छ । तर समझदारीपछि मलेसिया जानका लागि रोजगारी खुला नभएपछि राजनीतिक बृतमा प्रश्न उठ्न थालेको छ ।

गएको कात्तिक १२ गते नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको थियो । श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सरकारले सिन्डिकेटधारी बिचौलिया संयन्त्रहरुको खारेजीका लागि दबाव दिन भन्दै मलेसियामा कामदार पठाउन रोकेको ६ महिना बितिसकेको छ ।  मलेसिया सरकारले नेपालसँग श्रम समझदारी गरेको पनि एक महिना वितिसकेको छ । तर, समझदारी भएको एक महिना बित्दा पनि कामदार पठाउने प्रक्रिया नटुंगिँएपछि नेपाली कामदारले अझै मलेसिया जान पाएका छैनन् ।

समझदारी भएको एक महिना बितिसक्दा पनि मलेसिया जानका लागि रोजगारी खुला नभएपछि कांग्रेस नेता डा.शेखर कोइराला र राप्रपा अध्यक्ष कमल थापाले श्रममन्त्री गोकर्ण बिष्टमाथि छानविन गर्न प्रधानमन्त्री केपि शर्मा ओलीसँग सार्वजनिक रुपमै माग गरेका हुन् ।

नेपाली कांग्रेस नेता कोइरालाले श्रममन्त्रीले आफू नजिककाहरुलाई फाइदा दिलाउन मलेसियाको रोजगारी बन्द राखेको आरोप लगाउलै उनले सोमबार सामाजिक संञ्जाल ट्वीटरमा लेखेका छन्, “श्रम सम्झौतापछि नियोजितरुपमा रोजगारका लागि मलेसिया पठाउने काम अगाडि नबढ्नु दुर्भाग्य हो । श्रममन्त्रीले स्वार्थका लागि सम्झौताका विरुद्ध गएर भेन्डर चेन्ज गरी आफू निकटलाई दिन लागि परेको समाचार सार्वजनिक भैरहेको सन्दर्भमा यसको छानबिन होस र प्रक्रिया तत्कालै शुरू गरियोस ।”

यसैगरी राप्रपा अध्यक्ष कमल थापाले पनि सोमबार नै यसबारे ट्वीट गरेका थिए । उनले भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसियाको रोजगारी नखोलिएकोबारे छानविन गर्न माग गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “मलेसिया सरकारसँग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए । तर, समझदारीपछि अझै मलेसियामा रोजगारीको अवसर नखोल्नु र बन्द रहनु कुटनीतिक कमजोरी देखिन्छ, यसबाट आशंका पैदा भएको छ । भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया नखोलेको सञ्चार माध्यममा आएको छ । प्रधानमन्त्रीले छानविन गर्नुहुन्छ कि ?”

श्रममन्त्री बिष्टले मलेसियामा रोजगारीमा जाने प्रक्रियामा आवद्ध बिचौलिया कम्पनीलाई हटाएर आफ्ना निकटस्थलाई पोस्न खोजेको आरोप लगाउँदै छानविन गर्न कांग्रेस नेता कोइराला र थापाले समाजिक सञ्जाल ट्वीटरमार्फत नै प्रश्न गरेका हुन् ।