राजनीति

‘अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छाै’ : कर्ण

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य नभएको भन्दै राजपाको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने जानकारी दिए । उनले अहिले सरकारले कुनैपनि गतिलो काम गर्न सकेको भन्दै वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको आरोप लगाए ।

नेता कर्णले आफूहरु सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको भन्दै ‘हामीले संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन गरेको बताए । उनले भने, ‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसँग कुनै छलफल नै गरेको छैन । त्यसैले अब समर्थन कायम राख्नुपर्ने औचित्य छैन ।’

कर्णले भने,‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो । व्यक्तिगत रुपमा केपी ओली क्रिश्चियन बन्न सक्नुहुन्छ । त्यो उहाँको व्यक्तिगत छुट हो । तर, उहाँ अहिले मुलुकको प्रधानमन्त्री हो । उहाँ प्रधानमन्त्री भईकन जुन एउटा धर्मको प्रचारमा लाग्नुभयो, यो विल्कुल गलत हो । यो हाम्रो संविधानको बर्खिलाप हो । संविधानले पनि यसलाई सहँदैन् । उहाँले जुन काम गर्नुभएको छ, त्यो विल्कुलै गलत काम हो ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको समेत आरोप लगाए ।