समाचार

अपाङ्गता भएका परिवारको घर निर्माण

राँझा । बाँकेमा अपाङ्गता भएका १०४ परिवारका लागि घर निर्माण भइरहेको छ ।

राप्तीसोनारी गाउँपालिका–६ स्थित फत्तेपुरका अपाङ्गता भएका ४० परिवारलाई पूर्ण र ६४ परिवारलाई आंशिक सहयोगमा घर निर्माण भइरहेको हो । बाँकेस्थित हेविटेड फर ह्युमिनिटी नामक संस्थाको सहकार्यमा महिला उपकार मञ्चले घर निर्माणमा सहयोग गरेको हो । अपाङ्गता भएका व्यक्तिको आवश्यकता र आर्थिक अवस्था अध्ययन गरेर घर निर्माणमा पूर्ण र आंशिक सहयोग गर्दै आएको मञ्चका उपाध्यक्ष चन्द्रकला न्यौपानेले बताएका छन् ।

मेहमानपुरका अपाङ्ग विन्तीराम थारूको परिवारलाई पूर्ण सहयोगमा घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको उनले जानकारी दिए । विन्तीरामको घरपरिवारमा चार अपाङ्गता भएका व्यक्ति छन् । विन्तीराम र उनकी एक छोरीको घुँडादेखि तलको भाग चल्दैन भने श्रीमती र एक छोराको पैतलाको भाग नै छैन ।

राप्ती नदीको छेउमा अवस्थित फत्तेपुरमा डुबानको जोखिममा भएकाले करीब रु तीन लाख ५० हजारको लगानीमा डुबान र भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिएको महिला उपकार मञ्चले बताएको छ । अपाङ्गता भएकै कारण आर्थिक अवस्था कमजोर भई बस्ने बाससमेत नभएका व्यक्तिलाई घर निर्माण हुँदा उनीहरूको जीवन मैै सकारात्मक परिवर्तन आएको उक्त गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले बताएकी छिन् । गाउँपालिकाभित्रका अन्य वडामा पनि यस किसिमको कार्यक्रम विस्तारका लागि साझेदारी गर्न गाउँपालिका अग्रसर भइरहेको उनले जानकारी दिइन् ।