आर्थिक

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४ र ७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिलले सो आवमा रु चार अर्ब पाँच करोड खुद मुनाफा गरेको थियो ।

बैंकका अनुसार १०० कित्ता शेयर बराबर १२ कित्ता लाभांश शेयर र प्रति शेयर रु २२ का दरले नगद लाभांश दिने भएको हो । बैंकको यही मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।

यस्तै स्टकमा आज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । आव २०७४ र ७५ को नाफाबाट बैंकले प्रस्ताव गरेको १८ दशमलव २५ प्रतिशत नगद लाभांश दिने भएको छ । मूल्य समायोजनपछि सो बैंकको प्रतिकित्ता शेयर मूल्य रु ३४५ कायम हुनेछ । यस्तै औसत आधार मूल्य भने रु ४९८ हुने छ । यस्तै विवरण बुझाउन अटेर गरेको भन्दै सोमबार कारोवार रोक लगाइएको नाडेप लघुवित्त वित्तीय संस्थाको कारोवार खुला भएको छ । स्टकले आज सो लघुवित्तको कारोवार खुल्ला गरेको बताएको छ ।