समाचार

स्वरेकका सुन्तालामा सुनौलो भविष्य

पोखरा । विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्दै आएका छन् ।

युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उनले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी फलफूलको उत्पादन एवं गरी बिक्री गर्दै आएका छन् ।

पोखरासहितको बजारमा अत्यधिक माग हुने गरेको स्वरेकका सुन्तला बिक्रीका लागि विगतमा डोकोमा बोकेर लैजानुपर्ने भए पनि अहिले भने घरघरबाटै बिक्री हुने गरेको उनले जनाएका छन् । “मेरो बगैँचामा अहिले २५० बिरुवा छन्, यी सबै फल्यो भने पाँच लाखभन्दा बढी आम्दानी गर्न सक्छु,” उनले भने, “स्वरेक असपासका क्षेत्रमा सुन्तला खेतीको धेरै सम्भावना भए पनि अझै सर्वसाधारण यसतर्फ आकर्षित बनेका छैनन् ।”

प्याराग्लाइडिङको विश्वकपसमेत सम्पन्न भइसकेको स्वरेकलाई नेपाल सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यका सूचीकृत गरेसँगै यसले यहाँका स्थानीयवासीमा ठूलै आशा जगाएको छ ।

बढ्दो पर्यटकको आगमनसँगै सुन्तलासहित यहाँ उत्पादित फलफूल तथा तरकारीले यही नै बजार पाउने सम्भावना रहेको उनले बताएका छन् । एक छोरा, दुई छोरीका अभिभावक पाण्डेले व्यावसायिक कृषिकै माध्यमबाट परिवारको पालनपोषणका साथै शिक्षादीक्षा गराइसकेका छन् । रोजगारीको खोजीमा विदेशिएका युवालाई व्यावसायिक सुन्तला खेतीका साथै अन्य कृषिजन्य उत्पादनले खुशी र सुखी जीवनयापन गर्न सकिने दरिलो प्रेरणाको स्रोत पाण्डे बने।

“यहाँ सुन्तला खेतीका साथै कोदो, मकै, भटमास आदिको राम्रो उत्पादन हुन्छ”, उनले भने, “बाटोको सुविधासमेत भएका कारण उत्पादित वस्तुले बजार पाउँदैन कि भन्ने चिन्ता कति लिनुपर्दैन ।”

पाण्डेलाई व्यावसायिक कृषिका लागि श्रीमती नेत्रकुमारी पाण्डेले दैनिक सघाउँ छन् । श्रीमतीको प्रेरणा एवं सहयोगले आफूलाई अझै क्रियाशील बनाउने गरेको अनुभव उनले सुनाए ।