बाग्मती

कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन तयार छौंः बिद्यासुन्दर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ ।

कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताएका हुन् ।

ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि शाक्यले जानकारी दिए । सङ्घीय संसद् सदस्य गगन थापाले स्थानीयवासीसँग छलफल गर्दै आगामी छठ पर्वसम्ममा पोखरी निर्माण गरिसक्नुपर्ने भन्दै सबैको लागि पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

आयोगका सदस्य–सचिव सरोज बस्नेतले पोखरीलाई वास्तु शास्त्रमा आधारित, ज्ञान प्राप्त गरिने तथा सीपयुक्त कलात्मक सम्पदाका रुपमा विकास गरिने बताए ।

छलफलमा सहभागी स्थानीयले कमलपोखरीको सरसफाइ र सुरक्षाका लागि विगतमा भएका अभ्यासको सम्झना गर्नुपर्ने, पोखरीको जमीन अतिक्रमण हुनबाट बचाउनुपर्ने, विगतमा अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने, स्रोतको दुरुपयोग रोक्नु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी कमलपोखरीमा वार्षिक महोत्सव गरिनुपर्ने, स्थानीय जीवनसँग पोखरी व्यवस्थापनलाई अन्तर सम्बन्धित बनाइनु पर्ने, पोखरीको पानीलाई स्वच्छता कायम गर्नुपर्ने, बालमैत्री, ज्येष्ठ नागरिकमैत्री र सुरक्षित हुनुपर्ने बताएका थिए ।

कमलपोखरी अहिले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । पोखरीको चार कुनामा कमल फुल्ने स–साना सहायक पोखरी हुनेछन् भने चार कुनामा पाँच वटा ढुङ्गेधारा निर्माण गरिनेछन् ।