समाचार

काङ्ग्रेस बैठकमा विधान मस्यौदामाथि दमदार रुपमा छलफल जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको प्रस्तावित विधान मस्यौदामाथिको छलफल जारी छ ।

काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए ।

मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्य बलबहादुर केसी, डा नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, डा शेखर कोइराला, जीवनबहादुर शाही, रत्ना शेरचन र किरण यादवले आ–आफ्नो धारणा राखेको पार्टी कार्यालयले जनाएको छ । बैठकले काठमाडौँको न्यूरो अस्पतालमा उपचारार्थ नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का पूर्वकार्यकारी निर्देशक प्रा डा यज्ञ अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै बैठकले काङ्ग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतका पिता एवं काङ्ग्रेसका क्रियाशील सदस्य छत्रबहादुर बस्नेतको ९६ वर्षको उमेरमा आइतबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठक भोलि मङ्गलबार बिहान ११ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।