आर्थिक

झापालाई मदिरा नियन्त्रित बनाउन व्यवसायी सक्रिय

दमक । माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ ।
स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकारी कार्यक्रमलाई शसक्त ढङ्गले कार्यान्वयन गराउन जिल्लाको माई पश्चिमका मदिरा व्यवसायीहरूले चरणबद्ध अभियान शुरु गरेका हुन् ।

मेची मदिरा व्यवसायी सङ्घ, माई पश्चिम क्षेत्रीय समितिका अनुसार कारोवारलाई व्यवस्थित बनाउन माई पश्चिमका पाँचैवटा स्थानीय तहमा त्यससम्बन्धी जनचेतना कार्यक्रम शुरु गरिने छ । सङ्घका अध्यक्ष प्रेम पाण्डेले मदिरा कारोवारलाई व्यवस्थित बनाउन स्थानीय सरकार, व्यवसायी, राजनीतिक दलसहित सरोकारवालाहरूसँग छलफल गरी अभियान शुरु गरिने बताए । उनले दमक, गौरादह, शिवसताक्षी नगरपालिका र कमल, गौरीगञ्ज गाँउपालिकामा सङ्घले आवश्यक छलफल थाल्ने

छलफलपछि माई पश्चिमका पाँचै स्थानीय तहमा मदिरा कारोवारसँगै सेवनमा समेत नियन्त्रण हुने अभियानको लक्ष्य रहेको मदिरा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य भरत चम्लागाईंले बताएका छन्। उनले भने, “मदिरा कारोवारमा देखिएको विकृति नियन्त्रण गर्न तथा कारोवार व्यवस्थित गर्न पहल थालिएको छ ।”

सङ्घले अभियान सफल बनाउन प्रारिम्भक चरणमा स्थानीय सरकारका प्रतिनिधिहरूसँग छलफल थालेको जनाएको छ । यसैक्रममा आइतबार दमक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरूसँग छलफल गरिएको थियो । छलफलपछि दमकमा यही मङ्सिर २७ गते सरोकारवाला पक्षहरूको सहभागितामा नगरस्तरीय वृहत छलफल तय समेत गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
छलफलमा नगरप्रमुख रोमनाथ ओलीले नगर क्षेत्रमा मदिरा व्यवस्थित बनाउने अभियान सबै पक्षको सहकार्यमा शुरु गरिने बताएका छन् । मदिरा कारोवारलाई व्यवस्थित बनाउन बेचबिखन र सेवन बारेमा सरोकारवालासँग छलफल, अन्तरक्रिया थालेर अघि बढ्ने उनले जानकारी दिए । उनले भने, “मदिरा कारोवारलाई व्यवस्थित बनाउन कानुन निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध छ ।’

छलफलमा नगर उपप्रमुख गीता अधिकारीले मदिराका कारण सामाजिक विकृति, अपराध निम्तिँदै आएकाले यसलाई अब व्यवस्थित बनाउन स्थानीय सरकार लागिपर्ने बताएका छन् ।