खेलकुद

मनाङ र आर्मीको अपराजित यात्रा कायमै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ ।

मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अङ्कका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अङ्कका साथ दोस्रो स्थनामा छ । थ्रीस्टार र सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२÷१२ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित समान १०÷१० अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । सरस्वति क्लब दुई जीत र तीन खेलमा पराजित हुँदै छ अङ्कका साथ सातौँ स्थानमा छ ।

ए डिभिजन लिगको नव प्रवेशी च्यासल युथ क्लब एउटा जीत, एउटामा बराबरी र तीन खेलदमा पराजित हुँदै चार अङ्कका साथ आठौँ र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौँ, १०औँ र ११औँ स्थानमा छन् । चार खेलमा पराजित र एउटामा जीतसहित ब्रिगेड ब्वाइज लिगको १२औँ स्थानमा छ । मछिन्द्र दुई अङ्कका साथ १३ औँ तथा एनआरटी एक अङ्कका साथ अङ्कतालिकाको पुछारमा छ ।