प्रदेश 2

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई पक्राउ गरिएका प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख दीगम्बर यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत रु ५१ हजार ३७१ राजश्व सङ्कलन भएको प्रमुख यादवले बर्ताएका छन्। उनका अनुसार सो क्रममा विद्युत् मिटर चार थान, पङ्खा तीन थान र टिभी तीन थानलगायतका सामान बरामद गरिएको छ ।