लुम्बिनी

गाउँमा मोटरबाटो निर्माण, गाउँलेको मुहारमा खुसी

दाङ । तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले जानकारी दिए। उनका अनुसार बाटो निर्माण भएपछि सो वडाका बल्ले, पयौखोर, साँझवास, किमुगैरालगायतका आधा दर्जन गाउँका नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने छन् । सो सडकमा अब जीप पनि सञ्चालन गर्न सकिने छ ।

यसअघि त्यहाँ बाटो नहुँदा बिरामी तथा सुत्केरीलाई बोकेर उपचार गराउन तुलसीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यता रहेको थियो । समयमा ल्याउन नसक्दा कतिको त अकालमा नै मृत्यु हुने गरेको थियो ।

यसैबीच सो कृषि सडकको आइतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागेको बताए ।
पहिलोपटक आफूहरु मोटर बाटोको पहुँचमा पुग्न सकेको भन्दै त्यहाँका स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । उनीहरुले अब विद्युत्को व्यवस्था गरीदिन पनि नगरप्रमुख पाण्डेलाई अनुरोध गरेका छन् ।

तुलसीपुर बजारदेखि करीब १२ किलोमिटर उत्तर दक्षिणमा रहेको साँझवासमा बाटो नहुँदा त्यहाँका जनताले निकै दुःख खेप्नुपरेको थियो । त्यसैगरी त्यहाँ उत्पादन भएको कृषिउपजले पनि बजार पाउन सकेको थिए । उपमहानगरपालिका भए पनि अझै पनि त्यहाँका नागरिक विकासका पूर्वाधारबाट वञ्चित रहेका छन् ।