समाचार

निर्मला हत्यामा प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउने गरी अनशन बस्छु : डा.केसी

काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउने गरी अनशन बस्ने बताएका छन् ।

निर्मला पन्तको न्यायका लागी भन्दै कञ्चनपुरमा जारी अनसनमा ऐक्यवद्धता जनाउन कञ्चनपुर पुगेका डा.केसीले आइतबार धनगढीमा स्वास्थ्य पत्रकार समूह सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रमाण नष्ट गर्नेविरुद्ध मुद्दा नलगाएसम्म सत्यतथ्य बाहिर नआउने दाबी गरे ।

उनले निर्मलालाई न्यायका लागी आफु अनसन बस्ने तयारी गरेको बताउदै डा.केसीले अबको अनशनले निर्मलालाई न्याय दिनेसमेत दाबी गरे। डा. केसीले यस अघि भएका सहमतिहरु पालना नभए र निमर्लाका हत्यारा पक्राउ नगरे पुष २ गतेपछि अनशन बस्ने बताए ।

‘उनीहरूले किन प्रमाण नष्ट गरे त,’ केसीले भने, ‘राज्य संचालन गर्नेमध्येकै कोही अपराधी भएकाले यस्तो प्रपञ्च रचिएको हो। प्रमाण नष्ट गर्ने सबैलाई फौजदारी मुद्दा चलाउनुपर्छ अनि कसले हत्या गरेको हो तिनीहरूले बोल्छन्।’ डा.केसीले सरकार आफैले अपराधीलाई संरक्षण दिइरहेको समेत आरोप लगाए ।

निर्मला हत्या प्रकरणपछि प्रमाण नष्ट गर्ने काम राज्यले गरेर अपराध संरक्षण दिएको उनले बताए । निर्मला पन्तको घटनाले ३ करोड नेपालीलाई लज्जस्पद बनाएको डा.केसीको भनाइ छ ।

उनले सुदूरपश्चिमको कैलालीमा एक मेडिकल कलेज बनिरहेको भएपनि पहाडी जिल्लालाई लक्षित गरेर अर्को मेडिकल कलेज पनि स्थापना हुन जरुरी रहेको औल्याए । प्रदेशको डोटी वा डडेल्धुरामा मेडिकल कलेज स्थापना भए अछाम, बझाङ, दार्चुला, बैतडी जिल्लामा बसोबास गर्दै आएका स्थानीयलाई स्वास्थ्य सेवा पाउनमा सहज हुने उनले बताए ।

विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनमा कसैले ध्यान नदिएको दुःखेसो उनले पोखे । प्रदेशमा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजको अवलोकन गरेका डा.केसीले मेडिकल कलेज सञ्चालनमा आएपछि जनतालाई स्वास्थ्य सेवा पाउन सहज हुने समेत बताए ।