साहित्य

को हो त्यो नाथे निर्मला ?

-अर्जुन खड्का

………….
को हो त्यो निर्मला ?
जो मरेर पनि दुःख दिइरहेकी छ हामीलाई
किन तर्साउन आइरहन्छ
उसको रगतले लत्पतिएको अनुहार ?

कयौं सपना निमोठेरै आइपुगेका हौं यहाँ
जाबो एउटा कोपिला निमोठियो त के भयो ?
सुनौला रहरहरु दबाएरै आइपुगेका हौं यहाँ
नाथे २–४ आवाजहरु दबाइन्छ त के भो ?

को हो त्यो निर्मला ?
जसको पछाडि गुञ्जिरहेछ अर्राष्ट्रिय विलाप
ताकेर आइरहेछ आवाजहरु सत्ताको नजिक–नजिक

आफैंसँग हारेकी निर्मलाको आत्म
किन घुमिरहेछ बहुमतको सिंहदरबार वरिपरी ?
नाथे निर्मलाहरुको आत्मलाई दबाइदिनु
समृद्धिको छपनिमुनि र भनिदिनु–
यो समृद्धहरुको युग हो, निर्धाहरुको होइन
च्यातिदिनु सत्ताबिरुद्ध सोझिएका मान्छेका टाङ
न्याय माग्नेहरुलाई भनिदिनु–
के सबै कुरा मागेर पाइन्छ ?

अरुले आँखा लगाउने छोरी पनि किन जन्माउने हँ ?
घोषित गरिदिनु ती बाबुआमालाई पागल
र भनिदिनु–यो पागलहरुको देश होइन

रुँदै न्याय माग्नेका छातिहरु चरिदिनु
र हाँस्दै टाँगिदिनु–नयाँ युगको पोस्टर

को हो निर्मला ?
जो मरेर पनि दुःख दिइरहेकी छ हामीलाई
किन तर्साउन आइरहन्छ
उसको रगतले लत्पतिएको अनुहार ?

को हुन् ती नाथे निर्मलाहरु
जसका आत्म आइरहेछन् सत्ताको वरिपरी
र, हल्लाउन खोजिरहेछन् नयाँ युगको शासकको कुर्चि ।