कृषि

अण्डापालकले दिए अण्डा सडकमा नष्ट गर्ने यस्तो चेतावनी

चितवन । अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ ।

भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैगरी अण्डा उत्पादक किसान राहत कोषसमेत स्थापना गर्नुपर्ने आवश्यकता महसुस गर्दै कोष स्थापनाका लागि कार्यविधि तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

सङ्घले अण्डा व्यापारीले ढुवानी गर्दा हुन जाने नोक्सानी बेहोर्नका लागि विगत एक दशकदेखि अण्डा ढुवानी राहत कोष स्थापना गरी काम गर्दै आएका छन् । सङ्घले देशभरको प्रतिनिधित्व हुने गरी कार्यसमितिको सङ्ख्या बढाउन आगामी साधारणसभामा प्रस्ताव पेश गर्ने जिम्मा कार्यसमितिलाई दिने निर्णय गरेको छ । सङ्घले चितवनमा रहेका सदस्यबाट विसं २०६४ देखि बजार प्रवद्र्धन कोषका लागि प्रति पेटी रु एक र अण्डा ढुवानी राहत कोषवापत रु तीन उठाउँदै आएकोमा देशभरबाट नै कोषमा रकम उठाउने निर्णय गरेको छ ।

भेलाले अण्डाको मूल्य घट्नुको प्रमुख कारण उत्पादन बढी भएको भन्दै लेयर्स प्यारेन्ट आयातमा नै कटौती गर्न ह्याचरी उद्योग सङ्घलाई आग्रह गर्ने निर्णय गरेको छ । त्यसैगरी अण्डाको बजारीकरणका लागि हरेक जिल्लामा सहकारीको स्थापना गरी त्यसको अवधारणाअनुसार कामकाज गर्ने निर्णय गरेको छ ।

भेलामा देशभरका ३०० जना कृषक सहभागी भएका थिए । हाल ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट रु २४० र मध्यमको रु २०० मा बिक्री हुँदै आएको छ । सङ्घका केन्द्रिय सचिव मदन पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु २७० पर्न आउँछ । मूल्य एकोहोरो घटेपछि किसानका आपतकालीन भेला डाकिएको पोखरेलले बताए ।