अन्तर्राष्ट्रिय

यमन ठूलो दुर्घटनाको खतरामाः राष्ट्रसङ्घ

एडेन । विश्व शान्तिका लागि कार्यरत राष्ट्रसङ्घले यमनमा स्थायी शान्तिका लागि द्वन्द्वरत पक्षसँग आह्वान गरिरहेका समय राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार यमनमा ठूलो दुर्घटनाको खतरामा रहेको बताए।

सरकार पक्षधर समूहहरू तथा हुथी विद्रोहीबीच वन्दर्गाह शहर होडैडामा पछिल्ला दिनमा चर्किएको द्वन्द्वका कारण उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई मानवीय सहयोगको खाँचो परिरहेका समय उनको भनाइ आएको हो । यमन महत्वपूर्ण दुर्घटनाको खतरामा रहेको छ, लोककले प्रभावित क्षेत्रको भ्रमण गरी फर्किनुभन्दा पहिले सञ्चारकर्मीसँग गरेको कुराकानीमा भने ।

उहाँले आफुले सन् २०१७को अक्टोबरमा यमनको भ्रमणमा गरेको र उक्त समयभन्दा अहिले यमनको स्थिति ज्यादै फरक रहेको बताए। संयुक्त राष्ट्रसङ्घले यसअघि पनि यमनमा मानवीय सङ्कट विश्वकै सबैभन्दा खराब अवस्थामा रहेको बताउँदै आए।

एडेनमा मैले भोकमरीको चपेटामा परेका बालबालिकामा रोग तथा खाद्यान्न अभाबका कारण निकै दुब्ला बालबालिकालाई देखेँ । हजारौँको सङ्ख्यामा रहेका उनीहरूले आफ्ना आँखा खोल्नसमेत नसक्ने अवस्थामा सार्वजनिक स्थलमा लडिरहेका ह्रदयविदारक घटनाहरू देखेँ । यहाँ तत्काल स्थायी शान्तिको स्थापना नगरिने हो भने यो अवस्था थप विकराल बन्ने देखिन्छ, उनले भने ।

यमनमा हुथी विद्रोही र सरकारबीचको द्वन्द्वका कारण १० हजारभन्दा बढी नागरिकहरूले ज्यान गुमाएका विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर विभिन्न मानव अधिकारवादी समूहले अहिलेसम्म यमनमा कम्तिमा ६० हजार नागरिकको ज्यान गुमेको बताउने गरेका छन् । यमनमा लाखौँ मानिस अन्तरिक तथा वाह्यरूपमा द्वन्द्वका कारण विस्थापित बनेका छन् ।