आर्थिक

न्यौपाने बने सर्वसम्मतिका आधारमा कार्यसमिति अध्यक्ष, यस्तो छ पुरा विजयी समूह

काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए ।
सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् । त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । संघको निवर्तमान अध्यक्ष दीपक खड्का हुन् ।
नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले आगामी दिनमा अटो मेकानिक्सको हितका लागि थप प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारण सभाको उद्घाटन श्रम, रोजगार तथा समाज कल्याण मन्त्री गोकर्ण विष्टले गरेका थिए ।
साधारण सभाको उद्घाटन गर्दै मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए तापनि लाखौ नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौलाई रोजगारी प्रदान गरिरहेको र आगामी दिनमा आत्म सम्मानका साथ युवाहरु यो क्षेत्रमा लाग्ने वातावरण निर्माणका लागि सरकारले सहयोग गर्ने बताए ।
उनले यो क्षेत्रमा लाग्ने दक्ष जनशक्तिको आँकलन गरी त्यस्ता जनशक्ति उत्पादनका लागि आवश्यक योजना निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरे । अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले देशमा भएका सबै सवारी साधनको गुणस्तरयुक्त तरिकाले मर्मत गर्नका लागि राम्रो वातावरण निर्माण गर्नु पर्ने आवश्यकता भएको र यसका लागि सहकार्य गर्न चेम्बर पनि तयार भएको बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसालले महासंघको नारा नै ‘प्रत्येक सहरमा सुविधासम्पन्न अटोल्यान्ड’ भएको बताउदै सरकार र व्यवसायी मिलेर यसका लागि विभिन्न क्षेत्रमा सम्भाव्यता अध्ययन गरी त्यसै अनुरुप अगाडि बढ्नु पर्ने बताए ।
अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्काले वैदेशिक रोजगारीका कारण अटो मेकानिक्स र प्राविधिकहरु विदेश पलायन हुने क्रम बढेकाले यसका लागि देशमा ठूला पूर्वाधार निर्माणको आवश्यकताका साथै महानगर, उपमहानगर र नगरपालिकाहरुमा अटोल्यान्ड निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुले समेत अटोल्यान्ड निर्माणका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा यो वर्ष ‘एसईई’ परीक्षा उत्तिर्ण गर्ने अटो मेकानिक्सका बालबालिका र अटो मेकानिक्स व्यवसायी संघलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।