अन्तर्राष्ट्रिय

किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छः ट्रम्प

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले शनिबार जनाए ।

अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह ९जी–२०० बैठकबाट स्वदेश फर्कनेक्रममा विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै उहाँले गत जुनमा सिङ्गापुरमा किमसँग भएको शिखर बैठकको निरन्तरताका लागि अर्को बैठकको तयारी भइरहेको जानकारी दिए ।“शिखर बैठकका लागि तीनवटा सम्भावित ठाउँका बारेमा प्रारम्भिक छलफल भएको छ, तर टुङ्गो लागेको छैन,” राष्ट्रपति ट्रम्पले भने।

गत जुनमा सिंगापुरमा भएको ट्रम्प र किमको पहिलो ऐतिहासिक बैठकपछि कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरणका सन्दर्भमा केही कामहरु भएका छन् ।

सिंगापुर बैठकका क्रममा व्यक्त प्रतिबद्धता बमोजिम उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम त्याग्ने सङ्केत स्वरुप केही ठोस कार्य गरेको देखाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नोभेम्बरको शुरुमै उत्तर कोरियाका वरिष्ट अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको थियो। उत्तर कोरियाले पछिल्ला दिनहरुमा आफ्नो देशविरुद्ध लागेका प्रतिबन्धहरु फुकुवा हुनुपर्ने माग गरिएको छ ।

शुक्रबार मात्र, ट्रम्पले जी–२० सम्मेलनका क्रममा ब्युनस आयर्समा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरे।