पु.समाचार

३८ कर्मचारी हुनुपर्नेमा १७ मात्रै, सर्बसाधारणलाई सास्ती

लहान । कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १० गरी ३८ जनाको दरबन्दी रहे पनि हाल मालपोत अधिकृतसहित १७ जना मात्र कार्यरत रहेको कार्यालयका नायबसुब्बा तथा सूचना अधिकारी सुधीर यादवले जानकारी दिए ।

कर्मचारी अभावका कारण दैनिक कामकाज प्रभावित हुनुको साथै मोठ फाँटलगयतका महत्वपूर्ण फाँटसमेत बन्द रहँदै आएको छ । कर्मचारी अभावका कारण एउटै कर्मचारीलाई दुईदेखि तीन फाँटसम्म हेर्ने गरी जिम्मेवारी तोकिएको छ । कार्यालय प्रमुख र आवश्यक कर्मचारी नहुँदा कार्यालयको कामकाज पूर्ण प्रभावित हुँदै आएको सूचना अधिकारी यादवले बताए ।

कर्मचारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएकोबारे पटक–पटक विभाग र मन्त्रालयमा मौखिक र लिखित जानकारी गराउँदा पनि आश्वासनबाहेक केही पाउन नसकिएको उनको भनाइ छ । प्रत्येक दिन कार्यालय खुलेसँगै सेवाग्राहीले कार्यालय भरिभराउ हुने गरे पनि जनशक्ति अभावमा सेवाग्राहीले निकै सास्ती व्यहोर्न बाध्य भएका छन् ।