कर्णाली प्रदेश

दुर्घटनामा परी ज्यान गुमाउनेप्रति मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् ।

शनिबार वीरेन्द्रनगर–१४ सुर्खेत गजोनीस्थित भे१ख ८४९ नंको बस दुर्घटनामा परी ज्यान गुमाउने लेकबेँसी नगरपालिका–८ सुर्खेतका ४० वर्षीय जानकी दर्लामी र २२ वर्षीय देउमाया वन्काटीप्रति उनले शोक व्यक्त गरे ।

मुख्यमन्त्री शाहीद्वारा जारी शोक वक्तव्य भनिएको छ, “केही समययता भइरहेका शृङ्खलावद्ध दुर्घटनाहरु र त्यसबाट भइरहेको जनधनको क्षतिले आफूलाई चिन्तित तुल्याएको छ । शनिबार दुर्घटनामा ज्यान गुमाउनेको मृतात्माको चीर शान्तिको कामनाका साथै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

मुख्यमन्त्री शाहीले शनिबार राति नै बस दुर्घटनाका घाइतेलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । घाइतेका आफन्तले अस्पतालबाट उपचारमा लापरवाही भएको गुनासो गरेपछि मुख्यमन्त्री शाही अस्पताल पुगेर उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिए ।