खेलकुद

भ्यालेन्सियामाथि रियलको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० ले हराएको हो ।

घरेलु मैदानमा एक आत्मघाती गोल उपहार र लुकास भास्क्वेजले एक गोल गरेपछि रियलले सहज जित निकालेको हो । जितसंगै रियलले शीर्ष स्थानका क्लबसंगको अंक दुरी कम गरेको छ । सान्टियागो बेर्नाबेउमा खेलको पहिलो हाफको आठौं मिनेटमा आत्मघाती गोलबाट रियलले अग्रता बनाएको थियो । भ्येलान्सियाको ड्यानियल वासले आत्मघाती गोल गरेपछि रियलले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा रियलले थप एक गोल गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । खेलको ८३ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।जितसंगै रियलका प्रशिक्षक सान्टिएगो सोलारीलाई केहि राहत मिलेको छ । प्रशिक्षक नियुक्त भएपछि अघिल्ला खेलमा खराब प्रदर्शन कायम रहेपछि सोलारी दबाबमा रहेका थिए ।

यस्तै रियलले जितपछि तालिकाको शीर्ष पाँच भित्र आफुलाई ल्याउन सफल भएको छ । रियलले १४ खेलबाट २३ अंक जोडेको छ । र, लिगको पाँचौ स्थानमा छ । रियल शीर्ष स्थानको सेभिया भन्दा ३ अंकले पछि छ । भ्यालेन्सिया १७ अंक जोडेर १३ औं स्थानमा छ ।