गण्डकी प्रदेश

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली । चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् ।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए । उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो ।

चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ ।