कर्णाली प्रदेश

सुर्खेतको कपासेमा बस दुर्घटना, दुई जनाको मृत्यु, ९ को अवस्था गम्भिर

सुर्खेत । पिकनिक मनाएर फर्किएका यात्रु चढेको बस सुर्खेतको कपासेमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ५० जना घाइते भएका छन्।

मृतक दुवैको सनाखत भएको छ। मृत्यु हुनेहरूमा सुर्खेतको लेकबेसी नगरपालिका ८ की ४० वर्षीया जानकी दर्लामी चन्द र सोही ठाँउकी २२ वर्षीया देउमाया बन्टाकी रहेको सुर्खेत प्रहरीका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

डिएसपी क्षेत्रीका अनुसार दुर्घटनामा गाडी चालकसहित ५० जना घाइते भएका हुन्। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता क्षेत्रीले बताए। घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, देउती अपताल र माया नर्सिङहोममा उपचार भइरहेको छ। एकजनालाई सामान्य चोटपटक लागेको छ।

गढी हुँदै कटकुवाबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेको मध्यपश्चिम यातायातको भे १ ख ८५९ नम्बरको बस कपासे नजिकै मोडमा दुर्घटना भएको हो।

सुर्खेतको लेकबेसी नगरपालिका ८ को स्थानीय जनजागृती यूवा क्लब चौरासेको आयोजनामा वीरेन्द्रनगरको गढीमा पिकनिक खाएर फर्कने क्रममा दुर्घटना भएको हो। गाडीमा ५३ जना यात्रु रहेको प्रहरीले जनाएको छ।