खेलकुद

इंग्लिश प्रिमियर लिगः म्यान्चेष्टर सिटीको अपराजित यात्रा कायमै

काठमाण्डौ । इंग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेष्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लिगको शीर्ष स्थानमा रहेको सिटीले अपराजित यात्रा कायम राख्ने क्रममा गएराति भएको खेलमा बर्नेमाउथलाई ३ – १ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, रहिम स्टर्लिङ र इकेली गुन्डोगानले एक एक गोल गरे । बर्नेमाउथका कलुम विल्सनले एक गोल गरे । पहिलो हाफको १६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा बर्नेमाउथका विल्सनले गोल गरेपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफमा सिटीले एकतर्फी खेल खेल्यो । खेलको ५७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ३ – १ को जित दिलाए । जितसंगै सिटीले १४ खेलबाट ३८ अंक जोडेको छ । र, अंक तालिकामा सिटीले दोस्रो स्थानको लिभरपुलविरुद्ध ५ अंकको अग्रता बनाएको छ ।

एक खेल कम खेलेको लिभरपुलको ३३ अंक छ । २० अंक जोडेको बर्नेमाउथ आठौं स्थानमा रहेको छ ।