खेलकुद

सङ्कटा क्लब विजयी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको खेलमा सङ्कटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले तीन अङ्क जोडेको छ । सङ्कटाले खेलको २३औँ मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो । सङ्कटाका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमित तामाङले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।

त्यसैगरी खेलको ४८औँ मिनेटमा एलोन म्याक्सवेलले गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा च्यासलले गोल फर्काएको थियो । सङ्कटाका कप्तान सरोज दाहालले च्यासलका सन्तोष साहुखललाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सन्तोषले गोल गर्दै च्यासललाई २–१ मा ल्याएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल सङ्कटाले २–१ ले जित्यो । खेलमा सङ्कटाका नितिन थापा म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै सङ्कटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा १२ अङ्क जोड्न सफल भएको छ । च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित चार अङ्कमै सीमित छ ।