लुम्बिनी

विकासको पथमा लम्कँदै नेपालगञ्ज

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार र सामाजिक विकासको पथमा विस्तारै अघि बढदै गएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटलाई विभिन्न शीर्षकमा छुट्याएर प्राथमिकताका आधारमा सानाठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ ।

“हामीले बजेटका आधारमा योजना छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौँ”, वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको भनाइ छ । पक्की बाटो, ढल निकास, नाला, खानेपानी, विद्यालयको भौतिक पूर्वाधार, रानीतलाउ पार्क, चिल्ड्रेन पार्कलगायतको संरचनाको जीर्णोद्धार र नयाँ निर्माणलगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ ।

त्यसैगरी, सीमान्तकृत र पछाडि पारिएका समुदायको सामाजिक विकासका लागि पनि सीप र रोजगारसमबन्धी कार्यक्रम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । “पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, उपप्रमुख उमा थापामगरको थप भनाइ छ, “ठूलाठूला नगरस्तरीय योजना नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने र वडास्तरीय योजनाका लागि वडा कार्यालयलाई नै जिम्मा दिइएको छ ।”

उपमहानगरपालिकामा चार वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास योजनाअन्तर्गत बाटो, नाला, ढल निकास, खानेपानी र विद्युत् विस्तारको काम भइरहेको छ । यी योजनाबाट नेपालगञ्जको सडक चौडा भएका छन् भने वर्षायाममा हुने डुबान समस्याबाट पनि नेपालगञ्ज मुक्त भएको छ ।

“स्थानीय तहमा वर्षौसम्म जनप्रतिनिधि नहुँदा कर्मचारीले नगरको विकासका लागि ठोस काम केही गरेनन्, तर अहिले अवस्था फेरिएको छ । नगरपालिका जनप्रतिनिधिले एकैपटक सबै काम गर्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माणका काम क्रमशः हुँदै गएका छन्”, नगरप्रमुख डा धवलशमशेर राणाको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा कृषि विकासको सम्भावना पनि प्रशस्त छ । सङ्घीय संरचनाको क्रममा थपिएका थप छ वडावासीको मुख्य व्यवसाय कृषि नै भएकाले कृषि विकासको सम्भावना देखिएको हो । कूल २३ वडा रहेको उपमहानगरपालिका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दा कृषि पेशामै आवद्ध भएकाले कृषि उत्पादन र कृषिजन्य व्यवसायको राम्रो सम्भाव्यता रहेको वडाध्यक्ष शाह बताए ।