अन्तर्राष्ट्रिय

नाफ्टा औपचारिक रुपमा खारेज, नयाँ सम्झौतामा तीन देशबीच हस्ताक्षर

ब्युनस आयर्स । संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनी दिएका थिए ।

युएसएमसीए नाम दिइएको नयाँ सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोका तर्फबाट राष्ट्रपति एनरिक पेना निटो र क्यानाडाका तर्फबाट प्रधानमन्त्री जस्टिन टु«डोले हस्ताक्षर गरेका थिए ।

तीनैजना नेताहरु हाल औद्योगिक राष्ट्रहरुको समूह जी–२० को बैठकका लागि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भेला भएका छन् ।

सम्झौतामा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो सम्झौता नमुनाका रुपमा रहेको र यसले आगामी दिनमा व्यापारको परिदृश्यमै परिवर्तन ल्याउने बताए ।

ट्रम्पले नयाँ सम्झौताका क्रममा नेताहरुबीच आरोप प्रत्यारोप भएपनि राम्रो नतिजा आएकामा प्रसन्नता व्यक्त गरे । उनले यस सम्झौताबाट अमेरिकी कामदारलाई फाइदा पुग्ने र बौद्धिक सम्पत्तिको संरक्षणमा ठोस योगदान हुने विश्वास व्यक्त गरे ।

सम्झौताले मुख्यगरी सवारी साधनका क्षेत्रमा कार्यरत मजदूर एवं कामदारको रोजगारी सुरक्षामा मद्दत पुग्ने बताइएको छ ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ सम्झौताले पछिल्ला दिनहरुमा बढ्दै गएका गम्भीर आर्थिक अनिश्चितताका चुनौतीको समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।