बाग्मती

एमाले र माओबादी केन्द्रका कर्मचारी सङ्गठनबीच एकता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका त्रियाशिल तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) निकट रहेका दुई कर्मचारी सङ्गठनबीच आज एकता भएको छ ।

प्राधिकरणमा आज आयोजित कार्यक्रममा तत्कालीन एमाले निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र तत्कालीन माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) बीच एकीकरण भएको हो ।

सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीबीच एकता भएको यो पहिलो पटक हो । दुई पार्टीबीच एकता भएपनि जनवर्गीय सङ्गठनहरुमा एकता हुन नसकिइरहेका बेला प्राधिकरणमा स्वस्फूर्त रुपमा आज एकता भएको हो । एकतापछि नयाँ सङ्गठनको नाम ‘नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन’ राखिएको छ ।

सो युनियनको संयोजकमा तत्कालीन युनियनका अध्यक्ष रामेश्वर पौडेल रहेको छ भने सहसंयोजकमा सङ्ठनका अध्यक्ष खगेन्द्र शाही रहेका छन् । निकट भविष्यमा नै एकता महाधिवेशनको आयोजना गरेर केन्द्रीय समिति ५ सदस्यीय बनाइने सहसंयोजक शाहीले जानकारी दिए । एकता घोषणा समारोहलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, नेकपाका नेता लिलामणि पोखरेल, वसन्त नेम्वाङ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभकामना दिएका थिए ।

मन्त्री पुनले प्राधिकरणलाई व्यवसायिक, मर्यादित एवं प्रभावकारी बनाउन कार्यरत कर्मचारीको प्रभावकारी भूमिका हुने बताए । उनले प्राधिकरणप्रति पछिल्ला दिनमा नागरिकको सकारात्मक सद्भाव सञ्चार भएको भन्दै त्यसलाई कायम राख्दै थप व्यवसायिक बन्न लाग्नुपर्नेमा जोड दिए । दुई सङ्गठनबीच एकता भएपछि प्राधिकरणका क्रियाशिल सङ्गठनको सङ्ख्या तीन हुन पुगेको छ ।