प्रदेश 2

हात्तीको बथान नै गाँउ पसी यसरी भत्कायो घर

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धरमपुरमा गएराति आएको जङ्गली हात्तीको बथानले तीन जना व्यक्तिको घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको छ ।

स्थानीयवासी उत्तम अचार्यका अनुसार कोशी टप्पु वन्यजन्तुु आरक्षणबाट २ वटा समूहमा आएका हात्तीका बथानले कञ्चनरुप नगरपालिका–१२ धरमपुरका बलिमायाँ विक, अर्जुन विक र प्रकाश विकको घर भत्काएको हो । हात्तीले घरमा रहेका अन्नबाली खानुको साथै करेसाबारीमा क्षति पु¥याउँदा लाखौं मुल्यबराबरको नोक्सानी भएको स्थानीयवासीले बताएका छन् ।

सो क्षेत्रमा दैनिक जङ्गली हात्ती गाउँमा पस्न थालेपछि थाल, टिन, ठटाउँदै रातभर स्थानीयवासी जाग्राम बस्न बाध्य छन् । जिल्लाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले वर्षेनी जनधनको क्षती गर्ने गरेको भएपनि सम्बन्धित निकायले कुनै पहल नगरेकोमा स्थानीयवासी आक्रोशित भएका छन् ।