खेलकुद

यसरी पर्दैछ सङ्कटमा भेडापालन व्यवसाय

बझाङ । चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथलीगाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयको प्रमुख पेशाका रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले सङ्कटमा पर्न थालेको हो । वर्षभरि लेकबेंसी गरेर भेडापालनको व्यवसायका लागि रहेको सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

चरनका लागि माथिल्लो क्षेत्र खुला हुने भए पनि तल्लो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकको गुनासो छ ।पछिल्लो समयमा जिल्लाका विभिन्न ठाँउमा स्थानीयले वन संरक्षणका नाममा चरिचरन गर्न नदिएपछि समस्या आएको हो । परापूर्वकालदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलबिसौना, रिलु, मष्टा, कैलास, गडराय, दहबगर, सैनपसेलालगायतका ठाउँका करीब ४५० परिवारले पालेका ४० हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई चरन सङ्कट भएको छ ।

साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरु धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको काँडाका घुरन बोहराले बताए । “सामुदायिक वनमा भेडा चराएवापत शुल्क तिर्नुपर्छ भनेर सामुदायिक वनका पदाधिकारी भन्छन्, उनीहरुले भनेको नमान्नु भएन सधैं पैसा तिर्न सकिँदैन, पैसा तिर्न नसक्दा भेडा उठाएर लैजाने गरेको छ”,उनले भने।

यसरी पैसा तिर्दै जाने हो भने वर्षभरिमा कमाइएको आधा हिस्सा सकिने भेडापालकको गुनासो छ । अब यो व्यवसाय छोड्नुभन्दा अर्को विकल्प नभएको साइपाल गाउँपालिकाका मनबहादुर महतले बताए । चरन क्षेत्रको अभावसँगै युवा पनि यस पेशामा आकर्षित नहुँदा पनि यस्तो समस्या आएको उनको भनाइ छ ।

युवाको वैदेशिक रोजगारतर्फ आकर्षण बढ्न थालेपछि झन समस्या थपिएको छ । पहिलेपहिले भेडा हेरालु सहजै पाइन्थे आजकाल महीनाको रु १५÷२० हजार दिन खोज्दा पनि मानिस पाइँदैन । हिउँदको समयमा हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले भेडाच्याङ्ग्रालाई बेँसी झार्नुपर्ने बाध्यता हुन्छ । बिरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गरेको अर्का भेडापालकको दुखेसो छ । साइपाल गाउँपालिकामा मात्र करीब ३६३ परिवार छन् जसमध्ये २५० भन्दाबढी भेडापालन व्यवसायमा संलग्न रहेको स्थानीय गोरख बोहराले बताए ।

“केही वर्षअघि एक जनाले ४५० देखि २०० भन्दाबढी भेडापालन गर्दै आइरहेका थियौँ, तर अहिले चरन क्षेत्रको अभाव हुँदा मुस्किलले ५०÷६० भेडा पालेको छौ,” उनले भने । यहाँका हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेशा मानिएको भेडापालन हालैका वर्षमा क्रमशः घट्दै गएको छ ।

सामुदायिक वनको आफ्नै किसिमका नीतिनियमका कारण व्यवसायमा असर पर्न थालेको हो । ऊनको प्रयोग पनि घट्दै गएको व्यवसायी बताउँछन् । सामुदायिक वन उपभोक्ता समितिले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउँदा विनाश गर्न थालेपछि अधिकांश ठाउँमा चरिचरनमा रोक लगाउनुपरेको बताउँछन् ।