शिक्षा

शिक्षक आन्दोलित भएपछि पनठनपाठन प्रभावित

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।

नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । आफूहरुले पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि पेनडाउन गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् ।

उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिए । “तलब नखाएर काम गर्न लागेको पाँच महीना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छ्रैनन्, उधारोमा काम कहिले सम्म गर्ने ?”, सचिव राठौरले भने ।

लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड्काले
जानकारी दिए । “हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटकपटक नगरपालिकामा आफ्नो समस्या राख्यौँ सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ”, शिक्षक खड्काले भने ।

समयमै नगरपरिषद् नहुदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छन् । कार्यपालिकाको बैठक पटकपटक बसे पनि सहमति हुनसकेको छैन । नगरपालिकाभित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुनसकेको छैन ।

कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीले वताइन् । “हामी पनि नगरपालिकाभित्रका सबै कर्मचारीको पक्षमा नै छौँ , हामीले कार्यपालिाकको बैठकमा गत आर्थिक वर्षमा सम्पन्न गरिएका क्रियाकलापको समीक्षा गरौँ भनेका छौँ, समीक्षा गर्न सहमत भए हामी नगरपरिषद् गर्न सहमत छौँ”, उपप्रमुख यरीले भनिन् ।

नगरपालिकाका प्रमुख गोविन्द पुनले छिट्टै समस्या समाधान हुने बताए । शिक्षकको मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने पुनले जानकारी दिए ।

मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापेर फर्किएका छन् । परिषद् समयमा हुन नसक्दा नगरपालिकाभित्र रहेका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत रहेका छन् ।