कर्णाली प्रदेश

वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण

मुसिकोट । राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ ।

मुसिकोट नगरपालिका–४ र १२ को सिमानामा रहेको उक्त बेली ब्रिजको विभिन्न स्थानमा प्वाल परेकाले जोखिम बढ्दै गएको सम्बद्ध सवारी चालकहरूले बताउँदै आएका छन् । पुल निर्माणपछि मर्मत र सम्भार नगरिँदा स्टिल प्लेट उप्किएर लथालिङ्ग बनेको स्थानीयवासी खिमबहादुर ओलीको भनाइ छ ।

उनका अनुसार पुलको अधिकांश स्टिल प्लेट र नट फुस्किएकाले आहोरदोहोरमा जोखिम बढेको छ । बाह्र टन क्षमता बहन भार भएको पुलमा दैनिक २०० बढी साना तथा ठूला सवारीसाधन दिनहुँ आवतजावत गर्दछन् । रुकुमबाट देशका विभिन्न शहरमा बाहिरिने तथा भित्रिने मुख्य नाकाका रुपमा रहेको यो पुल जीर्र्ण बन्दा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै यस क्षेत्रका नागरिकले गुनासो गर्दै आएका छन् ।

विसं २०६३ मा दाङ, सल्यान हुँदै रुकुम मुसिकोटसम्मको यातायात सेवा जोडिएपछि यहाँ बेलीब्रिज निर्माण गरिएको थियो । पुल बनेको झण्डै एक दशकपछि २०६३ मा चौरजहारी सडक डिभिजन कार्यालयले रू ३९ लाख खर्चेर उक्त बेली ब्रिजका पुराना स्टिल प्लेट हटाइ नयाँ राखेकामा दुई वर्ष नपुग्दै ती स्टिल प्लेट र नट उप्किएर पुल जीर्ण बन्न बनेको हो ।

मुसिकोट नगरपालिकाले भने जीर्ण पुल मर्मतका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरेर तत्काल जीर्णोद्धार गरिने जनाएको छ ।