उर्जा

मजदूर आन्दोलनले उद्योग ठप्प

बुटवल । जलविद्युत् क्षेत्रमा जडान गरिने समानको उत्पादन, जडान र मर्मतको काम गर्ने नेपालको एकमात्र उद्योग नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड (एनएचइ) मा कार्यरत मजदूर तथा कर्मचारीको आन्दोलनले उद्योग करीब एक सातादेखि ठप्प भएको छ ।

उक्त उद्योगमा कार्यरत मजदूरले गत असार ३१ गते व्यवस्थापन पक्षसमक्ष राखेका विभिन्न सात सूत्रीय मागका विषयमा व्यवस्थापन पक्षबाट व्यवास्ता गरिएपछि श्रम ऐनबमोजिम आन्दोलनमा उत्रनु परेको संयुक्त उद्योग ट्रेड युनियन नेपाल एनएचइ लि बुटवलका अध्यक्ष अमितबहादुर आचार्यले जानकारी दिए ।

उद्योगका मजदूर तथा कर्मचारीले गत असार २५ गते व्यवस्थापनसमक्ष कर्मचारीले खाइपाइ आएको आधार तलबमा रु पाँच हजार र महङ्गी भत्तामा रु तीन हजार ५०० समानरुपले वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएको महङ्गी भत्ताबाहेकका अन्य शीर्षकमा खाइपाइ आएका भत्ता शतप्रतिशत वृद्धि गरिनुपर्ने, कम्पनीभित्र चमेनागृहको व्यवस्था हुनुपर्ने, कर्मचारीलाई आवासको व्यवस्था, सम्पूर्ण मजदूर तथा कर्मचारीलाई कम्पनीको शेयर सहुलियत दरमा उपलब्ध हुनुपर्ने र अफिसियल पोशाकको व्यवस्था गरिनुपर्नेलगायतका माग रहेका छन् ।

उक्त उद्योग नेपालमा एकमात्र जलविद्युत्का उपकरण निर्माण, जडान र मर्मत गर्ने मुलुककै ठूलो कम्पनी हो । मजदूर तथा कर्मचारीले एक सातादेखि काम ठप्प पार्दा नेपाल विद्युत् प्राधिकरणका करीब दुई दर्जन सवस्टेशन निर्माण तथा मर्मत र एक दर्जन बढी जलविद्युत् निर्माणको काम प्रभावित हुने अवस्था आएको छ ।

पाँच महीनाअघि मागपत्र पेश गरेर पनि व्यवस्थापन र सञ्चालकसँग विभिन्न चरणमा छलफल गर्दा पनि आफूहरुको मागका विषयमा कुनै सुनुवाइ नभएपछि श्रम ऐन २०७४ बमोजिम धर्नासहितको आन्दोलनमा उत्रिनुपरेको अखिल नेपाल औद्योगिक मजदूर युनियन एनएचइ लि बुटवलका अध्यक्ष भुवन गिरीले बताए ।

विसं २०४२ मा रु १३ करोड लागतमा स्थापित उद्योगको हाल बुटवलमा १५ विगाहामा संरचना रहेको छ । उद्योगमा १७८ कर्मचारी कार्यरत छन् । एनएचइले हाल रसुवागढी जलविद्युत् आयोजना, साञ्जेन तल्लो र माथिल्लो जनविद्युत् आयोजना ५७ मेगावाट, निर्माणको जिम्मेवारी लिएको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका दुई दर्जन सवस्टेशन र ग्रिडको निर्माणको जिम्मेवारी लिएको छ । उद्योगका नायब महाप्रबन्धक केशव खकुरालले कम्पनीको तर्फबाट मजदूर तथा कर्मचारीका मागका विषयमा व्यवस्थापनलगायत श्रम विभागमा समेत विभिन्न चरणमा भएका वार्ता भएपनि निष्कर्षविहीन भएको बताए ।

संस्थामा बुटवल पावर कम्पनीको ५१ दशमलव ३० प्रतिशत, आइकेएन इन्डष्ट्रिज एएस नर्वेको ४६ दशमलव ९० प्रतिशत, बिटिआइको १ दशमलव शून्य ७५ प्रतिशत र हिमाल हाइड्रो एण्ड जेनरल कन्सट्रक्सनको शून्य दशमलव ७१ प्रतिशत शेयर रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले एनएचइका आफ्नो आन्तरिक समस्याबाट प्राधिकरणका परियोजना निर्माणमा समस्या देखिए कानूनअनुसार हुने बताए ।

उनले एनएचइ लामो समय समस्या रहे मुख्य निर्माण कम्पनीले सहायक कम्पनीलाई कामको जिम्मा दिएको भए समस्या नहुने तर आफैँले काम गरेको भए समस्या आउने बताए ।