पु.समाचार

देश विकासका लागि उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनुपर्छ– अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ले मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उनले भने, “राजनीतिक क्रान्ति सम्पन्न भएपछि देश अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको छ ।”

अध्यक्ष दाहालले जनताको सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरता कायम गर्ने विश्वास व्यक्त गरे ।

“देश विकासका लागि उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनुपर्छ”, उनले भने, “आर्थिक प्रगति र समृद्धिका लागि स्थिरताको आवश्यकता हुन्छ, स्थायित्वले सिर्जनशील वातावरण निर्माण गर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले बीसौँ शताब्दीमा वैदेशिक लगानीको विषय जटिल बनेको बताउँदै विश्वव्यापीकरणका कारण अहिले सो विषय सहज बन्दै गएको धारणा व्यक्त गरे । राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विकास तथा कृषि, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष दाहालले एक्स्पोले व्यापारका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीको उपस्थितिले आर्थिक विकासका लागि राम्रो सन्देश दिएको विचार व्यक्त गरे ।

एक्स्पोमा नेपाल, भारत, चीन, बङ्गलादेश, म्यान्मा, दक्षिण कोरिया, जापान, मलेसियालगायत मुलुकको बिक्री कक्ष राखिएको छ ।