खेलकुद

महिला साफ च्याम्पियनशीप विराटनगरमा

काठमाडौँ । नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार सो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । गत महीना दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालमा गर्ने निर्णय गरेको थियो ।

यसअघि उक्त प्रतियोगिता आयोजनाको जिम्मा श्रीलङ्कालाई दिइएको थियो । श्रीलङ्काले आयोजना गर्न नसक्ने जनाएपछि साफ प्रतियोगिता निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपालमा हुन लागेको प्रवक्ता राईले बताउनुभयो । यसअघि सो प्रतियोगिता पुस २ गतेदेखि श्रीलङ्कमा गर्ने गरी खेलतालिका सार्वजनिक गरिएको थियो । नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । सो प्रतियोगितामा नेपाल उपविजेतासम्म बनेको छ ।