अन्तर्राष्ट्रिय

जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा पुटिन र ट्रम्पको भेटवार्ता हुने

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ ।

उनीहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्टपतिको कार्यालय क्रेम्लिनले बिहीबार जनाएको छ । भेटका क्रममा उनीहरूले युक्रेनसँगको तनावका बारेमा छलफल गर्ने अधिकारीहरुले बताएका छन् ।

“भेटवार्ता हुने बारेमा वासिङ्टनले पुष्टि गरेको छ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग भने ।

पेस्कोभले जी–ट्वान्टीको शिखर सम्मेलन हुने अर्जेन्टीनामै उनीहरुको भेटवार्ता हुने जानकारी दिए । उनले आउदो शनिबार दिउसोतिर बैठक सुरु हुन सक्ने पनि बताए ।

“शीर्ष नेताहरूका बीचमा छोटो भेटवार्ता हुने कार्यक्रम रहेको छ, त्यो झण्डै एक घण्टाको हुन सक्छ,” उनले भने ।

पेस्कोभले नेताहरूबीचमा खुल्ला छलफलको आवश्यकता रहेकोमा जोड दिए । त्यस्तो छलफल क्षेत्रीय द्वन्द्व, दुई पक्षीय सम्वन्ध, रणनीतिक सुरक्षा र निशस्त्रिकरण लगायतका विषयमा हुने पनि उन बताए ।

“यी विषयहरु केबल हाम्रा दुई देशका चासोका विषय मात्र नभई विश्वकै सरोकारको विषय भएकाले सहमति भएपनि नभएपनि छलफल हुन आवश्यक छ,” उनले भने ।